कोभिड–१९ को संक्रमणका कारण विगत डेढ वर्षदेखि मुलुकको पर्यटन क्षेत्र प्रायः ठप्प नै छ। आकर्षक र ग्ल्यामरस क्षेत्र मानिएको पर्यटन र उड्डयन क्षेत्र कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा सूचीकृत भएको छ। पर्यटनको मुख्य आधार नै हवाई यातायात हो। कोभिडले हवाई यातायात प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर पर्यटनसँगै सम्बद्ध विभिन्न क्षेत्रमा परेको छ। 

पर्यटन क्षेत्रमा आधारभूत तथ्यांक प्रणाली नहुँदा यो क्षेत्रमा भएको लगानी र कोभिडका कारण भएको क्षतिको बिषयमा यथार्थ जानकारी अहिले नै आइपुगेको छैन। सरकारसँग पनि पर्यटन क्षेत्रमा भएको लगानी र क्षतिको ठोस विवरण छैन। नेपाल पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार समग्र पर्यटन क्षेत्रमा मासिक १० अर्ब रुपैयाँबराबरको घाटा भइरहेको अन्नपूर्ण पोस्टले लेखेको छ। त्यसलाई आधार मान्दा सन् २०२० को जनवरीबाट सन् २०२१ को जुलाईसम्मको १९ महिनामा पर्यटन क्षेत्रमा १ खर्ब ९० अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गर्न सकिन्छ। यसमा होटल, रेष्टुरेन्ट, पर्वतारोहणलगायत सम्पूर्ण पर्यटन उद्योग र उड्डयनलाई पनि समावेश गरिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिनुभयो।  

नेपाल राष्ट्र बैंकले २०७८ वैशाखमा होटल तथा रेष्टुरेन्ट कारोबार तथा सञ्चालनसम्बन्धी गरेको एक अध्ययनअनुसार ४०.८ प्रतिशतले होटल तथा रेष्टुरेन्ट वैशाखसम्म सञ्चालनमा आएका थिए। अध्ययनअनुसार समीक्षा अवधीमा होटेल तथा रेष्टुरेन्टतर्फ ५७.३ प्रतिशतका हाराहारीमा होटल पूर्णरूपमा सञ्चालनमा आएको थियो। यस्तै ३४.४ प्रतिशत आंशिक रूपमा र ८.३ प्रतिशतको संख्याका होटलको सञ्चालन हाल बन्द छ। 

यही अवधीमा होटल मजदुरहरूले औसत ज्याला ८०.३ प्रतिशत पाएका छन्। होटल संघ नेपाल हान उपाध्यक्ष विनायक शाहका अनुसार होटलहरू करिब ६ देखि ७ प्रतिशत मात्र सञ्चालन भइरहेका छन् भने एकतिहाइ मात्र मजदुरहरूलाई काममा लगाइएको छ।

संघमा आबद्ध होटलहरूले मासिक करिब २ अर्ब रुपैयाँ घाटा व्यहोरेका छन्। पदयात्रा, पर्वतारोहण, गाइड, पर्यटक सवारी, होटल, र्‍याफ्टिङसहितका अन्य पर्यटन व्यवसाय र त्यसमा आबद्ध मजदुर पनि चरम संकटमा छन्। विश्व पर्यटन संगठनका अनुसार नेपालको पर्यटनमा १० लाख जनशक्ति संग्लग्न छन्। यसमध्ये २ लाखको अवस्था तुलनात्मक रूपमा सहज भए पनि बाँकी ८ लाख मजदुर कोभिडका कारण प्रभावित भएको उल्लेख छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको पर्यटन क्षेत्रमा कोभिडको असरसम्बन्धी पछिल्लो एक अध्ययन प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान २.६ प्रतिशतको रहेकोमा कोभिडपछि १ प्रतिशतभन्दा कममा झरेको उल्लेख छ। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकोमा सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएका छन्। 

कोभिडका कारण पर्यटक आगमन ८० प्रतिशतले घटेको सरकारी तथ्यांक छ। समीक्षा अवधीमा पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आई २५ अर्ब रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष करिब ७५ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो। सन् २०२१ को ६ महिनामा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ। 

पर्यटन क्षेत्रको विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र हिमाल आरोहण तथा पर्वतारोहणबाट एक सिजनमै करोडौं विदेशी रूरुपैयाँ भित्रिने गर्छ। तर, कोभिडले साहसिक पर्यटनमा पनि असर पुर्‍याएको  छ। सन् २०२० को वसन्त याममा पर्वतारोहणबाट झण्डै आधा अर्ब रुपैयाँ संकलन भएको थियो। महामारीले पदयात्रा र पर्वतारोहणसँग सम्बद्ध मजदुर मात्रै ३ लाख ५० हजार प्रभावित भएका छन्। यस्तै करिब २७ सय पर्यटन सबारीको अवस्था दयनीय बनेको छ। 

सन् २०२० मा आन्तरिक उड्डयन क्षेत्रले करिब १० अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको थियो। मुलुकको आन्तरिक उड्डयन क्षेत्रले मासिक ६५ करोड रुपैयाँको क्षति व्यहोर्दै आएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिनुभयो। फिक्स विंग्सदेखि हेलिकप्टरसम्मको गरी मासिक ६५ करोडको घाटा व्यहोर्दै आएको शर्मा बताउनुहुन्छ। बोर्डको पछिल्लो तथ्यांकअनुसार करिब सवा खर्ब रुपैयाँ यसमा लगानी  छ। अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स पनि कोभिडका कारण मासिक २५ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको बताउँछ।