इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताउनु भएको छ । 

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तीव्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटि” भएको स्वीकार गर्नुभएको छ ।

इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो । सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वर्ल्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिवश सेनाले हमला गरेको बताउनुभएको छ ।

उहाँले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गर्नुभएको छ । 

गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्नसमेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वर्ल्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्ग हुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ । 

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभएको छ । उहाँले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताउनुभएको छ । 

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गर्नुभएको छ । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताउनुभएको छ ।  उहाँले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गर्नुभएको छ ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी छन् ।

डब्लुसीकेका प्रमुख कार्यकारी एरिन गोरले एक विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको बताउनुभएको छ । उहाँले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरुमाथि लक्षित रहेको जनाउनुभएको छ । 

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमा नमागेको बताइएको छ । यद्यपि उहाँले घटनाको अनुसन्धान गरिने बताउनुभएको छ । 

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि इजरायली प्रधानमन्त्रीलाई टेलिफोन गरी उक्त घटनाप्रति रोष प्रकट गर्नुभएको छ । बेलायतले इजरायली राजदूतलाई डाकेर उक्त घटनाको पूर्ण जिम्मेवारी लिन माग गरेको छ ।

पोल्यान्डले भने उक्त घटनामा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन इजरायलसमक्ष आग्रह गरेको छ ।  उक्त घटनामा मारिएका सहायताकर्मीको शव दक्षिण गाजा सीमाबाट बुधबार आ–आफ्ना मुलुकतर्फ लैजाने प्रबन्ध मिलाइएको छ । 

यसैबीच, इजरायलले गाजामा जारी राखेको सैनिक कार्यबाहीका क्रममा बुधबार राति कम्तीमा ६० जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी