अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकुल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको हो ।

भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तामाङद्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयान प्रतिकुल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ । 

साविक चाँगुनारायण गाविस–५ ख, कित्ता नं. २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बयान फेर्ने साक्षीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा २४ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ । 

उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको माग दाबी गर्दै आरोपपत्र दायर गरिएको हो ।