सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा छानबिन सुरु भएको छ । 

सरकारले उहाँलाई निलम्बन गरी तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउन अर्का एआइजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको उजुरीपछि छानबिन सुरु गरिएको बताउनुभयो । मन्त्रालयले भने चुहाइएको भनिएको सूचनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार दाहालमाथि पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको राति अनुमति नलिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर भेटेको आरोपसमेत छ । दाहाल जबराका नातेदार हुनुहुन्छ । त्यसै गरी प्रहरी हिरासतमा रहनुभएका इनाम सापकोटा र दाहालबिच सम्पर्क तथा संवेदनशील सूचना आदानप्रदान भएको तथ्य अनुसन्धानका क्रममा फेला परेको स्रोतको दाबी छ । दाहालमाथि लागेको आरोप पुष्टि भएमा पदीय गोपनीयता तथा सुरक्षा सूचनाको संरक्षणसम्बन्धी कानुनी दायित्व उल्लङ्घन भएको ठहरिन सक्ने जनाइएको छ । दाहालको चारबर्से पदावधि असोज २८ गते पूरा हुँदै छ । केही दिनअघि उहाँको पदावधि थपका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो । 

यसैबिच गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय मर्यादाविपरीत गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कारबाही गरिने बताउनुभएको छ । गृहमन्त्री गुरुङले मङ्गलबार सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका व्यक्तिले गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्दै सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताउनुभएको छ  ।