चितवन, असोज २९ गते । गम्भिर प्रकृतिका कोरोना संक्रमित बिरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ । कोभिड १९ कोरोनाका बिरामी राखेर उपचार गराउँदै आएका तीनवटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको अस्पतालले जनाएको छ। भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नु भयो ‘अस्पतालले छुट्टाएको १० वटा आइसीयु शैया खाली छैन । अस्पतालमा भर्ना भएर बसेका कोरोना संक्रमितलाई जटिल भएमा आइसियु चहिएमा कठिन हुने भएको छ ।’ अस्पतालमा रहेको आइसीयुमध्ये १० वटा कोरोनालाई छुट्टाएका छौँ, अहिलेसम्म शैया खाली हुन पाएको छैन ।

अन्य समयमा भन्दा अहिले संक्रमित भएर आएकाहरुमा जटिल समस्या देखिने क्रम बढ्दो छ। त्यो अवस्थामा आइसियु भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । उहाँका अनुसार अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये १० जना आइसीयुमा रहेका छन् ।

कोरोना संक्रमितको उपचार गराउँदै आएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भन्नुभयो, ‘संक्रमित मध्ये सातजनाको अवस्था गम्भिर छ।’ ती बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरेका छौँ। ती बाहेक अन्य बिरामी पनि आइसीयुमा उपचाररत छन् । केही महिना यता उपचार गर्न आएका कोरोना संक्रमितमध्ये आइसियु, भेन्टिलेटरमा राख्नुपर्ने संख्या बृद्धि हुन थालेको छ ।

उहाँका अनुसार कोभिड १९ कोरोनाका बिरामीलाई मात्रै राख्न भनेर २९ वटा शैया छुट्टाइएको छ । ती सबैमा बिरामी भर्ना भएको उहाँले जानकारी दिनुभयो। बिरामीको चाप वृद्धि भएपछि आइसियुमा राख्नको लागि ठाउँ नभएपछि एचडीयुको व्यवस्था गरेको डाक्टर लम्सालले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४४ शैयाको एचडीयुको व्यवस्था गरेको छ । अस्तालको आइसोलेसन खाली हुदै जाने तर आइसीयु र भेन्टिलेटर भरिने अवस्था आएको अस्पतालले जनाएको छ ।

२२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ । आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेल बताउनु हुन्छ ।

यहाँका अस्पतालमा विगतमा सामान्य लक्षण भएका संक्रमित मात्रै आउने गरेकामा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमित बढेका छन् । चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शैया र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँनु हुन्छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ सय १८ जना सक्रिय संक्रमित छन् । तीमध्ये अस्पतालमा ३ सय ३६ र होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८२ छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा कूल संक्रमितको संख्या २ हजार ८ सय २६ रहेको छ । त्यसमध्ये ३७ जनाको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको संख्या ६७ पुगेको छ ।भरतपुरका असपतालमा चितवन, नवलपरासी, मकवानपुर, गोरखा , तनहुँ, धादिङ, रुपन्देहीलगायत १५ जिल्ला भन्दा धेरै स्थानबाट यहाँ विरामी उपचार गराउन आउने गर्दछन् ।

-गोरखापत्र