यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ। 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो।

निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगका लागि शुक्रवार एन्फाले पाँचौ चरण सम्मको खेल तालिका सार्वजनिक गरेको छ। खेल डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। 

२०७२  सालको राष्ट्रिय लिगपछि लिग डबल राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुन लागेको हो। १४ क्लबको सहभागिता रहेको लिगका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। 

फागुन तेस्रो साताबाट आयोजना हुन लागेको नयाँ सिजनको लिगमा यस पटक चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ। नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ भने साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्दै नयाँ सिजनको आरम्भ गर्नेछ।

डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा कुल १ सय ८२ खेल हुनेछन्। लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। 

मस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। यस्तै फेयर प्ले अवार्ड विजेता टोलीले तीन लाख पाउने छन्। 

यस्तै प्रत्येक खेलको विजेता क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ र हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।