चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) डिजाइनको काम अघि बढाइएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको संयुक्त टोलीले गत फागुन ११ मा सडक विस्तार गर्ने खण्डको स्थलगत निरीक्षण गरेपछि डिजाइनको काम अघि बढाइएको कान्तिपुर अनलाइनले लेखेको छ ।

चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको यस खण्डमा सडकले चर्चेको क्षेत्र खाली (साइट क्लियर) गर्ने प्रक्रिया ४ वर्षअघिदेखि नै सुरु भए पनि नसकिँदा थप काम अघि बढ्न सकेको थिएन । साइट क्लियर भए/नभएको सम्बन्धमा मन्त्रीसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि डिजाइन अघि बढाइएको काठमाडौं चक्रपथ विस्तार योजना कार्यालयकी योजना प्रमुख सजना अधिकारीले जनाउनुभयो ।

‘साइटमा समस्या केही देखिएन,’ उहाँले भन्नुभयो, ‘कलंकीदेखि स्युचाटार पुलसम्म बिजुलीका २२ वटा पोल सार्न बाँकी थियो । अहिले धमाधम पोल सार्ने काम भइरहेको छ ।’डिजाइनको काम चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले गरिरहेको उहाँको भनाइ छ ।

गत मंसिर १६ मा उक्त खण्डमा पर्ने मन्दिर, रूख, अस्थायी प्रहरी चौकी, घरटहरालगायत संरचना हटाउन भन्दै सूचना निकालिएको थियो । त्यहीअनुसार साइट क्लियरको काम सक्दै लगिएको योजना कार्यालयले बताएको छ । ‘लामो समयदेखि यसमा प्रगति देखिएको थिएन,’ योजना प्रमुख अधिकारीले भनिन्, ‘मन्त्री र राजदूतको निरीक्षणपछि साइट क्लियर भएको जानकारी भयो । निरीक्षणलगत्तै डिजाइनको काम अघि बढेको हो ।’ डिजाइनको काम सकिनासाथ ठेक्का प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

डिजाइनको काम दुई महिनाभित्र सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउनुहुन्छ। ‘चक्रपथ पहिलो खण्डमा देखिएका सानातिना समस्यालाई दोस्रो खण्डमा सुधार गरेर डिजाइनको काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘डिजाइन सकिनासाथ ठेक्का अघि बढ्नेछ ।’ फाइनल डिजाइन आएपछि कति लागत लाग्ने थाहा हुने उहाँको भनाइ छ । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यस सडकलाई ८ लेनमा विस्तार गर्न लागिएको हो ।

सडक विस्तारपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुग्ने शर्माको भनाइ छ । महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने अझै समस्या छ । यसमा पछि काम गरिने भएकाले पछि नै समाधान गरिने मन्त्रालयले जनाएको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो । चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको छ । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने सडक विभागले जनाएको छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । तर चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ । 

चक्रपथको दोस्रो खण्ड विस्तारमा नेपाल सरकारको स्रोतबाट बनाउनुपर्ने केही काम पनि रहेको विभागले जनाएको छ । उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार योजनाअन्तर्गत कलंकी–नारायणगोपाल चोक खण्डको विस्तार गर्न भन्दै चालु आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । नाली, सर्भिस लेन निर्माणलगायतको काम गर्न यो बजेट व्यवस्थापन गरिएको सडक विभागले जनाएको छ ।

यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी सडकको चीनले नै ८ लेनमा विस्तार गरिदिएको थियो । चीनले ८ लेनमा विस्तार गरेर ०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जसको दूरी १०.३९ किमि छ । ‘दोस्रो खण्ड विस्तारको काममा अब ढिला हुने छैन,’ शर्माले भन्नुभयो, ‘चालु आर्थिक वर्षभित्रै ठेक्का गरेर काम अघि बढाउँछौं ।’