काठमाडौँ, जेठ २३ गते । घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाडलमा भेल बग्न थाल्छ । अनि पैदल यात्रु र साना सवारीसाधन खाल्डोमा पर्छन् । पानी पर्दा यो क्रम चली नै रहन्छ, अब त झन् मनसुन सुरु भइसकेको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२, कपनका टङ्कप्रसाद लुइँटेलले आफ्नो घरअगाडिको खाल्डोमा परेका धेरैको उद्धार गरिसक्नुभएको छ । अब बर्खा लागेपछि उहाँको त्यो कर्म अरु बढ्ने देखिन्छ । लुइँटेलले भन्नुभयो, “पानी भरिएपछि कति गहिरो खाडल छ भन्ने थाहै हुँदैन । यहीँ बसोबास गर्ने त सचेत हुन्छौँ तर वरपरबाट आउने सधैँ खाडलमा पर्ने गरेका हुन्छन् । बर्खा लागेपछि त झन् जोखिम बढ्यो ।”

बूढानीलकण्ठ–१२ को आनीगुम्बादेखि मिलनचोक, तरकारीबजार हुँदै धोबीखोलासम्मको सडकमा पक्की नाला निर्माणअन्तर्गत लुइँटेलको घरअगाडि २०७८ पुस १८ गते रड बिछ्याइएको हो तर त्यसपछि ढलानको काम एक मिटर पनि अघि नबढेको उहाँले बताउनुभयो । यही स्थानमा नेपाल टेलिकमको कार्यालय छ । कपन क्षेत्रका सयौँ सेवाग्राही दैनिक आवतजावत गर्छन् । 

बाटोमा पाइलैपिच्छे धराप थापिएको छ । ठेक्काको समय सकिँदै छ । एक वर्षमा २० प्रतिशत पनि काम भएको छैन ।

सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७८ जेठ २६ गतेको सम्झौताअनुसार ललितपुरको बालकुमारीस्थित हाई हिमालय–पीआर जेभीलाई बक्स कल्भर्ट र सडक निर्माणको ठेक्का दिएको हो । जिल्ला आयुक्तको कार्यालयले करिब एक हजार चार सय मिटर नाला निर्माण गर्न दिएको ठेक्का २०७९ असार २० गते सकिँदै छ । बूढानीलकण्ठ–१०, ११, १२ र काठमाडौँ महानगरपालिका–६ लाई समेट्ने उक्त सडक निर्माणका लागि २८ करोड ७४ लाख ३९ हजार ९५४ रुपियाँको ठेक्का उक्त कम्पनीले पाएको हो । 

सडकमा धरापैधराप

आयोजनाका सबइन्जिनियर अनित ढुङ्गानाका अनुसार यो सडक निर्माण कार्य कपन फैका जोड्ने खरीबोट चोकबाट सुरु हुन्छ । उहाँका अनुसार पहिलो खण्डमा अझै १५० मिटर नाला निर्माण भएको छ । 

आयोजनाका काठमाडौँ जिल्ला आयुक्त दिनेशकृष्ण पोते र ठेक्का पाएको कम्पनी हाई हिमालयका परियोजना व्यवस्थापन राजीवकुमार यादवले झन्डै दुई सय मिटर सडक निर्माण गरेको दाबी गर्नुभयो तर स्थलगत निरीक्षणमा उहाँहरूको दाबीअनुसार काम भएको छैन । 

बूढानीलकण्ठ–११ का गोपाल दाहालले पहिलो खण्डको १५० मिटर निर्माण भए पनि टेलिकम कार्यालय र अन्य स्थानको ५० मिटर सडक धरापका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोमा पाइलैपिच्छे धराप थापिएको छ । ठेक्काको समय सकिँदै छ । एक वर्षमा २० प्रतिशत काम भएको छैन ।”

निर्माणमा लापरबाही र ढिलाइ

लुइँटेलका अनुसार बूढानीलकण्ठ ११ र १२ मा निर्माणाधीन सडक आसपास आधा दर्जन विद्यालय छन् । विद्यार्थी आवतजावत गर्ने बाटो यही हो । उहाँ भन्नुहुन्छ, “बाटो निर्माण गर्नुपर्छ, हाम्रै लागि हो तर विद्यार्थी हुन् वा पैदल यात्री, हिँड्दाहिँड्दै खाल्डोमा परे त्यसको जिम्मेवार को हुन्छ ?”

उहाँले नाला निर्माणमा चरम लापरबाही भएको बताउनुभयो । खाल्डो खनेको ठाउँमा पुर्ने वा तत्कालै ढलान गर्नुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “दिनैपिच्छे मान्छे ज्यान दाउमा लगाएर हिँडेको देख्दा पनि अलपत्र छाडिएको बाटोको काम पूरा गर्ने काम भएको छैन । यस विषयमा गम्भीर छानबिन र कारबाही अघि बढाइयोस् ।”

ठेकेदार कम्पनीको बहाना

२०७८ जेठमा ठेक्का पाएको हाई हिमालय–पीआर जेभीले पुस लाग्दा मात्रै काम सुरु गरेको थियो । परियोजनाका व्यवस्थापक यादवले भन्नुभयो, “साउन, भदौ र असोजमा पानी परेकाले काम भएन । अनि दशैँ आइहाल्यो, चाडबाडमा पनि काम भएन । त्यसपछि काम सुरु भयो ।” उहाँले ‘साइड क्लियर’ नभएका कारण देखाउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्का खम्बा गाड्ने, सडकको दायाँबायाँ मिलाउनेलगायतका कारणले पनि नाला निर्माणमा ढिलाइ भएको हो ।”

साभार गोरखापत्र /अशोक अधिकारी