रामेछाप, असार २१ गते। रामेछापको खाँडादेवी गाउँपालिका-१ लुभु घाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएका एक महिला र चार जना पुरुषको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। 

सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका-१ लुभुघाटमा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा २६ जना घाइते भएका थिए। दुर्घटनाका गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो। बस ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ। 

मृत्यु भएका १२  जनाको सनाखत

बस दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुने नौसहित १२ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका  ६० वर्षीय ठुला तामाङ, ३६ गर्षीय खड्क बहादुर विक, २२ वर्षीया बिपना तामाङ, ३६ वर्षीया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। 

त्यसैगरी सुनापति गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रेको मण्डनदेउपुर नगरपालिका-९ का ६० वर्षीया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० वर्षीय कुलबहादुर बिक र काभ्रे रोशी गाउँपालिका-४ का कमल तामाङको सनाखत भएको छ। यसैगरी काभ्रेको पाँचखाल नगरपालिका-८ ४० वर्षीय कुलबहादुर विक, सुनापति गाउँपालिका-५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, बुद्ध तामाङ र वडा नम्बर खुल्न बाँकी सुनापति गाउँपालिकाकै नेमा तामाङको सनाखत भएको छ। प्रहरीका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएको एक जनाको सनाखत हुन बाँकी छ।  

-गोरखापत्र