काठमाडौं, फागुन १० गते । पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी निकै चर्चामा हुनुहुन्छ । यी दुईबीच प्रेम सम्बन्धका कुराले निकै चर्चा पाएको हो । तर दुवैले आफूहरुबीच प्रेम नभएको र मिल्ने साथी मात्रै भएको बताउनुभएको थियो ।

तर विवादबीच बाहिरिएका दुईवटा अडियोले फेरि उहाँहरुको सम्बन्ध चर्चामा पुगेकाे छ । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो बाहिरिएपछि अभिनेता पल शाहले प्रतिक्रिया जनाउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिरिएको अडियो संवादबारे प्रतिक्रिया जनाउनुभएको हो ।

पलले फरक प्रसङ्ग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताउनुभएको छ ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भए तापनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शङ्का रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न–भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ पलले फेसबुकमा लेख्नुभएको छ, ‘यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’

उहाँले आफूविरुद्ध आएका समाचार वास्तविकताभन्दा टाढा रहेकाले भ्रममा नपर्न पनि अपिल गर्नुभएको छ । ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्बिरसमेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्रहत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनुहुँदैन,’ पलले लेख्नुभएको छ ।