काठमाडौं, असार ८ गते । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ हजारभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलासा भएको छ । 

जिल्ला प्रशासन कार्यालयका तत्कालीन नायब सुब्बा झा उपर दुई करोड ४४ लाख ७१ हजार १०५ रुपियाँ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि अख्तियारले स्रोत नखुलेको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपियाँ भ्रष्टाचारमार्फत आर्जन गरेको दाबी गरेको छ । 

विसं. २०३९ मङ्सिर ९ गते गा.वि.स सचिवबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउन महिनाबाट झाले अवकाश पाउनुभएको थियो । सो अवधिमा झाले चार करोड ८७ लाख ३८ हजार २१० रुपियाँ आम्दानी गर्नुभएको अख्तियारको ठहर छ ।  

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उहाँको वैध आय दुई करोड ४२ लाख ६७ हजार १०४ रुपियाँ मात्र हुने देखिएको छ । 

अख्तयारले स्रोत नखुलेको आम्दानी दुई करोड ४४ लाख ७१ हजार १०५ रुपियाँ भ्रष्टाचारमार्फत आर्जन गरेको भन्दै रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ । 

झाले अवैध आर्जनको सम्पत्ति घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यावसायिक फर्म तथा कम्पनीमा खर्च गरेको अख्तियारले जनाएको छ ।