गएराति पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर- ७ स्पेसलचोकमा गोल्फुटारबाट बुढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेकाे बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र बुढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा सिराहाको जम्दह-४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन्। उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो।

घाइतेमध्ये नाम, ठेगाना नखुलेका दुई युवककाे अवस्था गम्भीर छ। गम्भीर घाइते एक युवकले कालो ट्याक,निलो टिसर्ट लगाएका र अर्का युवकले खैरो बक्स पाईन्ट, सेतो ट्र्याक लगाएका प्रहरीले जनाएकाे छ।

मङ्गोलिएन अनुहार भएका करिव ३० वर्षीय युवकका काेही आफन्तसमेत हालसम्म सम्पर्कमा नआएका प्रहरीकाे भनाइ छ।

घटनाकाे जानकारीपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको कमाण्डमा गएकाे प्रहरी टाेलीले घाइतेलाई अस्पताल पुर्याएका थिए।

हाल दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

समाचार स्रोत : nepalkhabar.com