नेपाल प्रहरीले भोटकोशी र त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।   कर्मचारीबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रति व्यक्ति सो रकम उपलब्ध गराउने निर्णय गरिएको हो। 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो ।  

बैठकमा रसुवा भोटेकोशी र त्रिशूली बाढीमा परी दिवंगत हुनु भएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवम् मृतक प्रहरी कर्मचारीको परिवारजनमा  समवेदना व्यक्त गर्ने निर्णय गरिएको थियो । साथै बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उहाँहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उहाँहरूका सन्ततिलाई ‍शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।