काठमाडौं, बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका–७ स्थित बुढानीलकण्ठ नगर युवा परिषद्को आयोजनामा ‘Municipal AI Governance Conference 2026: Reshaping Municipal Governance in the Age of Artificial Intelligence’ विषयक बहस, अन्तरक्रिया तथा सम्मेलन सम्पन्न भएको छ।

स्थानीय तहको सेवा प्रवाह, सुशासन, नीति निर्माण तथा सार्वजनिक सेवा व्यवस्थापनमा कृत्रिम बुद्धिमत्ता (AI) को सुरक्षित, प्रभावकारी र नैतिक प्रयोगबारे केन्द्रित उक्त कार्यक्रमले प्रविधिमैत्री स्थानीय शासन प्रणालीको विकास आवश्यक रहेको विषयमा व्यापक छलफल गरेको थियो।

सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधि, कर्मचारी, AI विज्ञ, युवा अभियन्ता तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले आधुनिक प्रविधिको युगमा स्थानीय सरकारहरू पनि प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले डिजिटल रूपान्तरणमार्फत नागरिकलाई प्रदान गरिने सेवाहरूलाई थप छरितो, पारदर्शी र गुणस्तरीय बनाउने नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी उपप्रमुख अनिता लामाले प्रविधिको प्रयोगसँगै नैतिकता, उत्तरदायित्व तथा नागरिकको गोपनीयताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। उहाँले कृत्रिम बुद्धिमत्ताको प्रयोग मानव हित, सुशासन र दिगो विकाससँग जोडिनुपर्ने उल्लेख गर्दै स्थानीय तहमा युवाहरूको क्षमता अभिवृद्धि तथा नवीन सोचलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो।

सम्मेलनका क्रममा AI आधारित सेवा प्रणाली, डिजिटल शासन, डेटा व्यवस्थापन, साइबर सुरक्षा तथा स्मार्ट नगर व्यवस्थापनका सम्भावना र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा प्रविधिको प्रभावकारी उपयोगमार्फत सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्न सकिने तथा नीति निर्माण प्रक्रियालाई थप तथ्यमा आधारित बनाउन सकिने धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार सम्मेलनले स्थानीय तहमा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार, सुरक्षित तथा प्रभावकारी प्रयोगबारे साझा समझदारी विकास गर्नुका साथै प्रविधिमैत्री शासन प्रणाली निर्माणका लागि सहकार्य र समन्वयको वातावरण सिर्जना गरेको छ।

स्थानीय सरकार र प्रविधिबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजित उक्त सम्मेलनले आगामी दिनमा नगरस्तरमा डिजिटल नवप्रवर्तन र स्मार्ट शासन प्रणालीको विकासका लागि महत्वपूर्ण आधार तयार गरेको अपेक्षा गरिएको छ।