बूढीगण्डकी नदीमा आएको बाढीले छ वटा पुल र चुमनुब्री गाउँपालिका–३ पैयुँ तथा बगरका करिब ३५ घर बगाएको छ । बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ ।

बाढीले आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी जोड्ने र आरुघाटको सोती तथा मान्बु जोड्ने पक्की पुल बगाएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ ।

बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ ।

बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको छ । बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।