बुढानीलकण्ठ, काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले लक्षित वर्गको आर्थिक आयआर्जन र आत्मनिर्भरताका लागि विशेष कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा चपली घुम्तीमा आयोजित एक कार्यक्रमका बीच अपाङ्गता भएका व्यक्ति, असहाय, विपन्न तथा द्वन्द्वपीडित परिवारलाई लोकल कुखुराको चल्ला वितरण गरिएको हो।
नगरपालिकाकी उपप्रमुख अनिता लामाले सम्बन्धित लाभग्राहीहरूलाई चल्ला हस्तान्तरण रिएको हो। नगरका पछाडि परेका वर्गलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ यो कदम चालिएको नगरपालिकाले जनाएको छ।
"हाम्रो प्रयास आत्मनिर्भर बनाउने हो" – उपप्रमुख लामा
चल्ला हस्तान्तरण गर्दै उपप्रमुख अनिता लामाले भन्नुभयो, "नगरपालिकाले केवल भौतिक पूर्वाधारमा मात्र होइन, मानवीय विकास र जीविकोपार्जनमा पनि उत्तिकै ध्यान दिएको छ। यी चल्लाहरू सानो सहयोग देखिए पनि यसलाई व्यावसायिक रूपमा अघि बढाउन सके द्वन्द्वपीडित र विपन्न परिवारको आर्थिक अवस्थामा ठूलो सुधार आउनेछ।"
उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई वडास्तरमै अझ प्रभावकारी रूपमा लैजाने र पालनाका लागि आवश्यक प्राविधिक सहयोग समेत नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाको यस प्रयासलाई स्थानीय र लाभग्राहीहरूले उत्साहजनक रूपमा लिएका छन्।

-
एक लाभग्राही (द्वन्द्वपीडित): "हामी जस्ता समस्यामा परेकाहरूका लागि सरकारले सम्झेकोमा खुसी लागेको छ। घरमै बसेर कुखुरा पालन गर्दा थोरै भए पनि खर्च चल्ने आशा जागेको छ। अब यसलाई कसरी ठूलो बनाउने भन्ने सोच्दै छु।"
-
स्थानीय बासिन्दा: "अपाङ्गता भएका र असहायहरूलाई हातमा नगद दिनुभन्दा यसरी काम गर्ने माध्यम दिनु धेरै राम्रो हो। यसले उहाँहरूलाई व्यस्त पनि राख्छ र आम्दानीको बाटो पनि खुल्छ। यस्ता कार्यक्रमहरू वास्तविक पीडितले पाउनुपर्छ।"
-
पशु सेवा शाखाका प्रतिनिधि: "लोकल कुखुराको माग बजारमा राम्रो छ र यो पाल्न पनि सहज हुन्छ। हामीले चल्लासँगै यसको स्याहार-सुसार कसरी गर्ने भन्नेबारे पनि सामान्य जानकारी दिएका छौँ।"
नगरपालिकाको पशु सेवा शाखाले सञ्चालन गरेको यस कार्यक्रमले चपली घुम्ती र आसपासका विपन्न परिवारलाई स्वरोजगारतर्फ प्रेरित गरेको छ। कुखुराका चल्ला हुर्काएर अन्डा र मासु बिक्री गरी आर्थिक रूपमा सबल बन्न यसले मद्दत पुर्याउने विश्वास गरिएको छ।

प्रतिकृयाहरु