झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ ।
सोमबार बिहानैदेखि ओली र साह दुवै जना निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहनुभएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरूमा मतदातासँग र साह सुकुम्वासी तथा भित्रि गाउँहरूमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरूको घरदैलो आजबाट सुरु भएको हो ।
आज १० भन्दा बढी स्थानहरूमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरू तय गरेर सोही अनुसार निर्वाचन प्रचारप्रसार सुरु गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिनुभयो ।
रास्वपाका नेता भेषराज भट्टराईका अनुसार साह सोमबार बिहानैदेखि घरदैलोमा पुगेर मतदाताका कुरा सुनिरहनुभएको छ । स्थानीयहरूले उम्मेदवारहरूसँग धनीपुर्जा लगायतका समस्याहरू राख्ने गरेका छन् ।
नेपाली कांग्रेसकी नेतृ मन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरू पनि घरदैलोमा रहनुभएको छ । ओली र साहको चर्चाले अन्य उम्मेदवारहरू ओझेलमा छन् ।

प्रतिकृयाहरु