रसुवामा प्रहरीले झण्डै डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरेले भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा सो सामान बरामद गरेको हो । 

सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले बिहीबार झण्डै डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

अवैध रुपले चोरीपैठारी गरी ल्याइएको सामानमा महँगा मदिरा र चुरोटलगायतका रहेको सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो । 

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।