पर्यटकीय गतिविधि नहुँदा देशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको सौराहा यस पटक सुस्ताएको छ । हात्ती दौड, हात्ती महोत्सवजस्ता कार्यक्रमले विगतमा जाडोको समयमा सौराहामा पर्यटक खचाखच थिए तर अहिले कुनै कार्यक्रम आयोजना नहुँदा चितवन आउने पर्यटक अन्यत्र जान थालेका छन् । 

यस पटक कुनै गतिविधि नहुँदा चितवन आउने सम्भावित पर्यटक देशकै अन्य ठाउँमा जान बाध्य भएको पर्यटनविज्ञ विश्व सुवेदीले बताउनुभयो । सौराहा आसपासको मेघौलीमा हुने हात्तीपोलोजस्ता कार्यक्रम पनि नहुँदा त्यसको असर सौराहाको पर्यटन व्यवसायमा परेको उहाँको भनाइ छ । 

यस वर्ष सांस्कृतिक कार्यक्रमबाहेक अन्य कार्यक्रम आयोजना गर्न नसकिएको होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । बर्सेनि सञ्चालन हुँदै आएको हात्ती दौड प्रतियोगिता पशु अधिकारकर्मीको विरोधपछि आयोजना गर्न नसकिएको उहाँले प्रस्ट पार्नुभयो । यसबाहेक तत्काल कुनै कार्यक्रम सञ्चालनको तयारी नभएको उहाँले जानकारी दिनुभयो । “हात्तीका गतिविधिमा रोक लगाएपछि अन्य रचनात्मक काम पनि गर्न सकिएको छैन,” उहाँले भन्नुभयो । विगतमा क्रिसमसलाई समेत लक्षित गरेर विभिन्न कार्यक्रम आयोजना हुने गरेकामा यस पटक धेरै गतिविधि नहुँदा सौराहामा पर्यटकको चहलपहल कम भएको उहाँले बताउनुभयो । 

सौराहाका होटल व्यवसायी दामोदर रेग्मी सौराहामा नयाँ गतिविधि नहुँदा हरेक वर्ष पर्यटक घट्दै गएको बताउनुहुन्छ । चितवनबाहेक अन्य क्षेत्रमा पर्यटकीय चहलपहल पनि बढ्न थालेकाले त्यसतर्फ पर्यटक आकर्षित हुन थालेको उहाँको भनाइ छ । अहिले पनि सौराहामा परम्परागत कार्यक्रमले मात्र पर्यटक धानेको उहाँले बताउनुभयो । सौराहाका पर्यटन व्यवसायीले नयाँ कार्यक्रम नल्याए पर्यटन क्षेत्रमा सुधार नहुने सरोकारवालाको बुझाइ छ । 

पर्यटक कम हुन थालेपछि सङ्घले भने सौराहा केन्द्रित पर्यटकीय गतिविधिमा जोड दिने निधो गरेको छ । सङ्घका महासचिव गुणराज थपलियाका अनुसार जनवरीपछि ‘घुमौँ सौराहा’ कार्यक्रमको योजना बनेको छ । सौराहाका राम्रा पक्षको देशव्यापी प्रचार गर्ने योजना सङ्घको छ । यसबाट पर्यटकीय गतिविधि बढ्ने थपलियाको विश्वास छ । सौराहा आउने पर्यटकले यहाँका वन्यजन्तुको अवलोकन, थारू संस्कृतिसँग जोडिएका विभिन्न गतिविधि हेर्न सक्छन् ।