सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। 

निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी अघि बढ्न बैठकमा सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

'आजको बैठकमा दुईवटा कुरामा छलफल भएको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा जित सुनिश्चित गर्ने गरी अघि बढ्ने निर्णय भएको छ', उनले भने, 'अर्को भनेको स्थानीय तह निर्वाचन हो। स्थानीय तहको निर्वाचन समयमा गर्छौँ। निर्वाचन आयोगसँग परामर्श भइरहेको छ।'

कार्कीले संविधानले तोकेकै समयमा निर्वाचन सकेर स्थानीय सरकारलाई अझै बलियो बनाउने पनि बताए। 

'हामी संवैधानिक जटिलता नआउने गरी निर्वाचन गर्न तयार छौँ। समयमै स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत बनाउँछौँ', उनले भने, 'स्थानीय तहलाई अझै प्रभावकारी बनाउने गरी सरकारले निर्वाचन आयोगसँग छलफल गर्दैछ। समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ।'

तर उनले कुन समय भन्ने खुलाएनन्। तर निर्वाचन आयोगले जेठ ५ गतेभित्र स्थानीय तह निर्वाचन सक्नु पर्ने जनाएको छ। त्यसपछि निर्वाचन गर्न संविधानले नदिने अडान आयोगले लिएपछि गठबन्धन सरकारमाथि मिति घोषणाको दबाब परेको छ।