काठमाडौं, असोज २९ गते /लोकेन्द्र बस्नेत 

   नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् । सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् । सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कांस्य जिते ।

       एपीएफका सुवासले त्यसअघि नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जितेका थिए । उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए । दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए । सातौंमा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए ।

नेपाली खेलाडीको दर्ता शुल्क सिनले प्रायोजना गर्ने

       युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शुल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन् ।

पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रतियोगितामा भिजन तामाङ, प्रगति कुइकेल, मेलिना राई, आयुश बोहरा, विवेक श्रेष्ठ, प्रसन्न पुडासैनी, अस्मिता नगरकोटी, महेश आङथुप्पा र आयुश ढुंगेलले जुनियरतर्फ नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता अक्टोबर १७ र १८ तारिखमा हुँदैछ । सिनियरको स्पर्धा अक्टोबर १२ र १३ तरिखमा सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गर्दैछन् । सिनियरको प्रतियोगितामा पनि खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । खड्का पुम्से, ग्योरोगी र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।