काठमाडौं — परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिव पदमा कार्यरत ५६ वर्षीय पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनका लागि यात्रा अनुमति पत्रसहित उपस्थित भएका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि राजदूतावासले सोधपुछ गरेको थियो। त्यसक्रममा जर्मन राजदूतावासले २०६८ जेठ २० गतेको पत्रमार्फत पाँच थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उपलब्ध गराएको थियो।
सिआइबीका अनुसार उक्त यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा संलग्न व्यक्तिको अनुसन्धान गर्दा खोटाङको रावाबेसी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने भट्टराईको संलग्नता देखिएको हो।
पुरानो घटनामा अहिले पक्राउ
प्रहरीका अनुसार उक्त समयमा भट्टराई परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत थिए। सोही घटनासम्बन्धी अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत २०८३ साउन ११ गते काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो।
अभियोगपत्रमा भट्टराईलाई उक्त कसुरमा प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ।
सिआइबीका अनुसार भट्टराईलाई सोमबार पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको छ। घटनासम्बन्धी थप कानुनी प्रक्रिया अदालतबाट अघि बढ्नेछ।
प्रहरीले घटनामा भट्टराईको भूमिकासम्बन्धी अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको जनाएको छ। अभियोग पुष्टि वा दोषी ठहर भने अदालतको अन्तिम निर्णयबाट हुने विषय हो।

प्रतिकृयाहरु