श्रीमान्‌काे हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैँकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३०, ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१०, बुद्धचोक बस्ने ४४ वर्षीय भद्रबहादुर थापा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहनबहादुर शाहीको नाममा दर्ता रहेको पोखरा–३० स्थित कित्ता नं. २४४४ र २४४७ को जग्गा श्रीमती वन्ती शाही र भद्रबहादुर थापाले मिलेमतोमा धितो राखेका थिए । उनीहरूले जग्गाधनी मोहनबहादुरको नक्कली सहीछाप तयार गरी सिद्धार्थ बैँक लिमिटेड, तालचोक शाखाबाट ५० लाख रुपियाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

आफ्नो मञ्जुरी र जानकारी बिना जग्गा धितो राखेर ऋण निकालिएको थाहा पाएपछि पीडित मोहनबहादुर शाहीले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ‘ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाले घटनाबारे थप अनुसन्धान जारी राखेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।