केहि हप्ता वा दिन देखि कार्तिक दोस्रो हप्तासम्म बूढानीलकण्ठ नगरपालिका लगायत देशका प्रायः सम्पूर्ण स्थानिय तह अधिवेशनमय बन्यो। बूढानीलकण्ठ नगरपालिकामा पनि २२/२५ दिन अगि नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न भयो। यसैगरि गत कार्तिक ६ गते नेपाल कम्युनिष्ट पार्टी एमालेले पनि देशव्यापी वडा अधिवेशन सफलताका साथ भव्य र सभ्य तवरले नेकपा पार्टीको विधि र विधान बमोजिम सम्पन्न भएको छ। नेकपा पार्टी एमालेका अध्यक्ष केपी ओलीबाट (भर्चुअल) आधुनिक प्रविधिको प्रयोग गरि अधिराज्य भरि एकै साथ एकै समय उद्घाटन गरिएको वडा अधिवेसन इतिहास कै पहिलो र विशिष्ट रह्यो। वडा अधिवेशनमा प्रायः सम्पूर्ण वडाहरुमा सर्वसम्मत प्रतिनिधि चयन र निर्वाचित भएको थियो। सानातिना विवाद र छलफल पश्चात् निष्कर्षमा पुगेको बूनपा वडा अधिवेशनलको ३ दिनपछि कार्तिक ९ गते नगर अधिवेशनको पनि भव्य एवं सभ्य तवरले सम्पन्न भएको छ।

प्रायः अधिवेशन चुनाव वडा निर्वाचनमय हुने हुँदा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने नजिर रहे पनि नेकपा एमाले पार्टीको आह्वान बमोजम सर्वसम्मत ढंगले विवाद रहित अधिवेसन सम्पन्न गरियो।

बूढानीलकण्ठ नगरपालिका वि.सं २०७४ मा भएको स्थानिय तह निर्वाचनमा एमालेमय बनेको थियो। बूनपाको १३ मध्ये २ वटा वडा नं ४ र ६ बाहेक ११ वटै वडाहरुमा विजय हासिल गरेको थियो। निर्वाचन अघि नेकपाको उद्घोष र तत्पश्चात् भए/गरेका कामहरुले जनताको मन जित्न सके/सकेनन् त्यसको वास्तविक मुल्यांकन आगामी निर्वाचनको परिणामले देखाउने नै छ। 

नेकपा एमालेले सिक्नु पर्ने पाठ वा भनौँ विगतमा गरिएको गल्तिलाई आगामी निर्वाचनमा नदोहोर्याउनु नै पार्टीलाई अग्रपंक्तिमा उभ्याउन सफल बनाउनु हो। यसका लागि भविष्यमा घोषणा गर्न लागेको चुनावी मितिलाई लक्षित गरि प्रतिनिधि छनोट एवं योजना लगायत तमाम कार्यकर्तालाई आवश्यक प्रशिक्षण र निर्देशको स्पष्ट मार्गचित्र कोर्नु जरूरी छ। 

गोदावरीमा सम्पन्न विधेयक अधिवेशनले वडा लगायत नगर अधिवेशनलाई केहि अप्ठेरो महशुस गराईए पनि वास्तवमा कमिटी चुस्त र दुरुस्त बनाउन नगर कमिटि सदस्य धेरै जनाको बनाएर अस्तव्यस्त बनाउनुभन्दा पनि थोरै तर पार्टी प्रति दत्तचित्त, अनुशासित, नीति नियम प्रतिको पालना गर्ने, विधि र विधानको परिधिभित्र रहेर निष्ठावान प्रतिनिधि चयन गर्नु नै थियो। यद्यपी बूनपाको केहि वडाहरुमा भूगोल र जनघनत्वलाई मध्यनजर गरि न्यायोचित तवरले सदस्यहरुको चयन गरिएपनि आगामी दिनहरुमा नेतृत्व तहले अझ धेरै कुराहरुको व्यवस्थापन गर्न अति आवश्यक देखिन्छ। जस्तै हाल बूनपाका केहि वडामा जिल्ला सदस्यको प्रतिनिधि शुन्य छ कुनैमा कम छ। यसलाई पनि उचित निर्णय गर्नेछ भन्ने विश्वास लिएको छु। 

७५ जना सदस्यहरुको नगर कमिटीमा यदाकदा केहि सदस्यहरुको विवाद रहेपनि पार्टी प्रतिको निष्ठा, त्याग र योगदानको सवालमा यसको मुल्याङ्कनको सकारात्मकता देखिन्छ। केहि सदस्यहरुले आफ्नो काम-कर्तव्य र अधिकारको कुरा उठाइरहँदा कमिटीमा नपरेकाहरुको एउटा खरो प्रश्न आउने छ, कतै म असक्षम पो भएछु? यो प्रश्नको उत्तर मौखिक होइन नेतृत्वले हिजो पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा खटिरहने सदस्यहरुलाई समयमै उचित स्थान वा पदमा पदार्पन गरि विचलन आउन दिनु हुन्न। यसका लागि हिजो नगर कमिटिमा रहेका तर नवनिर्वाचित कमिटीमा नअटाइएका सदस्यहरुलाई यथाशिघ्र छलफलमा बोलाई उनिहरुको अदिकतम कुरा सम्बोधन हुनु पार्टीको भविष्य विवाद रहित बनाउनु हो। साथै आफुले आफैलाई कतै असक्षम पो हो कि भन्ने भ्रमबाट मक्त गराउनु पनि हो। 

भविष्यमा नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली पार्टी) लाई राष्ट्र, राष्ट्रिय हित, सार्वभौम सम्पन्न मूलुकको नेतृत्व गर्ने लोकप्रिय पार्टी बनाउन वडा तह देखि केन्द्रिय नेता गणहरुले खुरापाती होइन सदाचारी र जनप्रिय कदम अघि बढाउनु जरुरी छ। पार्टीको नीति नियमलाई आत्मसाथ गर्ने र यसलाई अवलोकन गरि हरेक कनिष्ठ एवं वरिष्ठ कार्यकर्ताहरुलाई जनताको बहुदलिय जनवादको सिद्धान्तको अवधारणा बारे सुसुचित गर्नु पर्दछ। लोकप्रिय पहिलो कम्युनिष्ट निर्वाचित प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योजना निर्माण क्षमता र उहाँको शालिनतालाई नेकपा एमालेको मार्ग चित्र बनाई बूनपाको वडादेखि नगर कमिटीसम्मले भावी नीति बनाई बूढानीलकण्ठ नगरपालिकालाई पुनः ऐमालेमय बनाऔँ। निर्वाचित सम्पूर्ण वडा कमिटी, नगरकमिटी सदस्यहरुमा बधाई एवं सफल कार्यकालको शुभकामना!  

लेख- नविन श्रेष्ठ (टोखाली)