काठमाडौं, वैशाख २८ गते। काठमाडौँ महानगरपालिका-१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँसी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो।

 उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता ललितपुर महानगरपालिका-२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ। 

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्तपालमा मृत्यु भएको हो।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ।

-रासस