संयूक्त अरव इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएई ब्याटिङमा उत्रिएको छ । 

आजको खेल दुवै टोलीका लागि निर्णायक हो । सिरिज जित्न दुवै टोलीलाई जित्नै पर्ने बाध्यता छ । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । 

नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो । 

कमजोर ब्याटिङ  गरिरहेको नेपाललाई सिरिज जित्न आज ब्याटिङमा उल्लेख्य सुधार गर्नुपर्ने अवस्था छ । भर्खर आईसीसी टी-२० विश्वकप खेलेर नेपाल आएको यूएई नेपालको तुलनामा बलियो छ ।

नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसमध्ये यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ ।

नेपालले आईसीसी लिग डिभिजन-२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ ।

लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।