फर्पिङस्थित एक गुठियारको घरबाट २३ वर्षअघि हराएको अघोरेश्वर(नीलबाराही)को स्वर्ण–तामा प्रतिमा सिंगापुरको एक प्रतिष्ठित संग्रहालयमा फेला परेको छ।
नेपाल संवत् ७५६ कुँदिएको पुरातात्विक महत्त्वको प्रतिमा २०५६ असार २ गते फर्पिङबाट हराएको थियो। सम्पदा खोजबिन र पहिचानको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ का अनुसार– यो प्रतिमा सिंगापुरस्थित एसियन सिभिलाइजेसन म्युजियममा फेला परेको कान्तिपुर अनलाइनले लेखेको छ। हरि–शंकर जात्राका अवसरमा नीलबाराहीजस्तै ७ वटा विशिष्ट भगवान् प्रतिमालाई फर्पिङभित्र घुमाउने प्रचलन रहिआएको छ। ७ मध्ये ४ वटा प्रतिमा चोरी भइसकेकाले अहिले प्रतिलिपी प्रतिमाकामा भरमा जात्रा सञ्चालन हुँदै आएको छ।
हिमालयन आर्ट रिसोर्सेसका अनुसार– यो प्रतिमालाई जोन एन्ड मरिना स्टेवार्टको संकलनबाट लिइएको जनाइएको छ। हिमालयन आर्ट रिसोर्सेजले जोन एन्ड मरिना स्टेवार्टले गरेको कला संकलनको दस्तावेजबारे जानकारी दिँदै आएको छ। सिंगापुरका ४ प्रमुख म्युजियममध्येको एक एसियन सिभिलाइजेसन म्युजियम सन् १९९७ मा स्थापना गरिएको हो जहाँ प्रमुखत चीन र अन्य एसियाली मुलुकका सम्पदाको संग्रह राखिएको छ।