काठमाडौं- अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ ।यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।