दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहनुभएका वलीलाई थप अनुसन्धानका लागि दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको हो । 

डिएसपी नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालयमा अहिले डिएपसी नरहेकाले थप अनुसन्धानका लागि राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।  

प्रहरी प्रमुख काफ्लेका अनुसार राज्यमन्त्री वलीले हातपात गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइनेछ । राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ आलुमण्डीस्थित एकराज बस्नेतीका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा बिहान पक्राउ गरेको थियो । 

राज्यमन्त्री वली नेकपा एमाले लुम्बिनी प्रदेशका सांसद स्व. उत्तरकुमार वलीकी श्रीमती हुनुहुन्छ । वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला खत्री वली विजयी हुनुभएको थियो ।