काठमाडौं, पुस १९ गते । सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँटमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको हो ।

१९ मध्ये बाँकी आठ सिटमा काँग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक/एक सिट दिने सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले आगामी माघ १२ गते निर्वाचन गर्ने मिति तोकेको छ ।

मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । राष्ट्रियसभामा १९ सिट खाली हुँदैछ । १९ मध्ये ८ वटामा नेकपा एमाले र बाँकीमा गठबन्धन दलका सदस्यहरुको कार्यकाल सकिँदैछ । यसअघि जहाँबाट जुन दलका सदस्यको प्रतिनिधित्व थियो त्यही दलबाट उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले बताउनुभयो ।

यद्यपि, राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष रहेको छ तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्काे दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् ।