अभिनेता शिव श्रेष्ठ र गौरी मल्लको जोडी २३ वर्षपछि देख्न पाइने भएको छ । यो जोडीलाई २३ वर्षअघि चलचित्र ‘धर्मसङ्कट’मा देखिएको थियो । अहिले चलचित्र ‘डाँडाको वरपीपल’मा यो जोडी देखिन लागेको हो । चलचित्रमा शिव र गौरी नायक सलोन बस्नेतको मातापिताको भूमिकामा देखापर्नु हुनेछ । चलचित्रको छायाङ्कन भइरहेको छ ।

चित्लाङ क्षेत्रमा छायाङ्कन भइरहेको यो चलचित्रमा शिव र गौरीका अलावा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको हो ।

हमालले नखेल्ने

अन्ततः महानायक राजेश हमालले चलचित्र ‘म राजेश हमाल’ मा नखेल्ने हुनुभएको छ । यो चलचित्रलाई निर्माता केदार भुसालले निर्माण गर्न लाग्नुभएको हो । भुसालले उक्त चलचित्रका लागि विशेष भूमिकामा अभिनय गर्न हमाललाई आग्रह गर्नुभएको थियो तर अभिनेता राजेश हमालले चलचित्र ‘सत्यम’मा समय दिनुपर्ने भएकाले आफ्नो नाममा बन्न लागेको चलचित्रमा काम गर्न असमर्थता जनाउनुभएको हो ।

त्यसो त हमालले आफ्नो नाममाथि चलचित्र बन्न लागेकोमा प्रसन्नता भने व्यक्त गर्नुभएको छ । ‘समय अभाव भएकाले यस चलचित्रमा काम गर्न नपाएकोमा दुःखी छु,’ हमालले भन्नुभयो । राजेश हमालले समय नदिए पनि निर्माण समूहले भने चलचित्रको छायाङ्कन धनगढीबाट सुरु गर्ने जनाएको छ । यो चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गर्ने पक्का भएको छ ।

‘म यस्तो गीत गाउँछु’ बजारमा

नायक राज कटुवाल र नायिका वर्षा शिवाकोटीले अभिनय गर्नुभएको म्युजिक भिडियो बजारमा आएको छ । शुक्रबारबाट बजारमा आएको ‘म यस्तो गीत गाउछु’ भिडियोलाई चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रामजी लामिछानेले तयार पार्नुभएको हो । गीतमा सुगम पोखरेल र सुष्मा विश्वकर्माको आवाज समेटिएको छ भने भिडियो हेर्ने जो कोहीले पनि राज र वर्षाको जोडीलाई
‘फिट जोडी’ भन्न करै लाग्छ ।

सरोज पौडेलको सङ्गीत रहेको यो गीतको भिडियो रोशन पाण्डेले निर्माण गर्नुभएको हो । गीत सत्यराज चौलागाईंले लेख्नुभएको हो । गीतको छायाङ्कन स्थल पनि लोभलाग्दो छ । ‘भिडियोलाई उच्च कोटीको बनाउन हामीले कुनै सम्झौता गरेका छैनौँ,’ निर्देशक रामजी लामिछानेले भन्नुभयो ।

निर्देशक आचार्य व्यस्त

कोभिड महामारीमा धेरै जना घरमा नै रहेका बेला निर्देशक ऋषिराज आचार्यले नेपाल सरकारले तोकेको मापदण्ड अपनाएर कलाकार र प्राविधिकलाई खोपको व्यवस्था गरेर चलचित्रको छायाङ्कन नै सक्नुभयो । यसरी छायाङ्कन गरिएको चलचित्र हो– ‘चुरिफुरी’ । यो चलचित्रको यतिबेला पोस्ट प्रोडक्सन कार्य भइरहेको छ ।

आचार्यले २०६३ सालदेखि पाँच वर्षसम्म वरिष्ठ निर्देशक शम्भु प्रधानको सहायक भएर काम गर्नुभयो । त्यसपछि मुम्बईबाट चलचित्र निर्देशनसम्बन्धी एक वर्षको अध्ययन गरेर ‘आफन्त’, ‘यात्रा जिन्दगीको’ जस्ता सुपरहिट टेलिसिरियलहरू निर्देशन गर्नुभयो । आचार्यको निर्देशनमा बनेका सञ्जीवनी, विश्वास जस्ता चर्चित सिरियलहरू नेपाल टेलिभिजन प्लसबाट प्रसारण भएका थिए ।

करिब एक हजार पाँच सय शृङ्खला जति टेलिसिरियल निर्देशन गरिसकेपछि आचार्यले ठूलो पर्दाको चलचित्र ‘मिस्टेक’ निर्देशन गर्नुभयो । ‘मिस्टेक’पछि उहाँले निर्देशन गरेको अर्को चलचित्र हो– ‘सपना तिम्रो मेरो’ । यसपछि ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ निर्देशन गर्नुभयो । यो चलचित्र जारी प्रथामा आधारित छ । दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्र विभिन्न सङ्घसंस्थाबाट पुरस्कृत पनि भयो । आचार्यले नै निर्देशन गर्नुभएको चलचित्र ‘ड्रिम गर्ल’को नेपाल र थाइल्यान्डमा छायाङ्कन भएको थियो । 

-गोरखापत्र