सर्लाही, माघ १२ गते । जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो ।

जुवाको खालबाट पक्राउ पर्नेहरुमा बागमती नगरपालिका– ३, का ३९ वर्षीय गौरीशङ्कर साह, घरधनी ३४ वर्षीय सञ्चर घिसिङ, ३४ वर्षकै जितबहादुर बम्जन, बसबरिया गाउँपालिका– ५, का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।

यस्तै, हरिवन नगरपालिका– १०, का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका– ५, बस्ने जुनैन अन्सारी, बरहथवा नगरपालिका– १०, बस्ने २९ वर्षीय रामवीर चौधरी र रौतहटको चन्द्रपुर नगरपालिका– १, का ५१ वर्षीय दिलबहादुर लामालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जुवातास नियन्त्रण ऐन अन्तर्गत इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

मध्यराती जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी निरीक्षक गिरीकै नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगेको थियो । प्रहरीले छापा मारेको घरमा बाह्रैमास जुवा खेलाइने गरेको स्थानीयवासीले बताएका छन् ।