धनकुटाको भेडेटारबाट प्रहरीले ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलराम राईरहेका छन्। थिङ ट्रक चालक र राई सहचालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी राखिएको अवस्थामा गाँजा फेला परेको हो। चेकजाँचका क्रममा ४८ वटा पोकामा प्याक गरिएको कुल ६४७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिकृयाहरु