बागलुङ — बागलुङका निसीखोला र तमानखोला गाउँपालिकामा गएराति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बाढीपहिरोले दुई स्थानीय तहमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ओमलाल विककी श्रीमतीसहित तीन छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, निसीखोला–६ मा गोठ पहिरोले पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्ती मगरको मृत्यु भएको जनाइएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार तमानखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

तमानखोला गाउँपालिका–४ मा गाउँमाथिबाट खसेको पहिरोले दर्जनौँ घरमा क्षति पुर्‍याउनुका साथै बालशिक्षा केन्द्र र लघुजलविद्युत् आयोजनाको विद्युत् गृहसमेत प्रभावित भएको छ। उक्त घटनामा हालसम्म दुई जनाको शव फेला परेको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार घटनामा मृत्यु भएकाहरूको पहिचान गर्ने काम भइरहेको छ। प्रहरी टोली निसीखोलामा पुगेर प्रारम्भिक उद्धार तथा व्यवस्थापनको काम सकेपछि तमानखोलातर्फ उद्धारका लागि परिचालन भएको जनाएको छ।

पहिरोले लघुजलविद्युत् आयोजनाको विद्युत् गृह नै बगाएपछि प्रभावित क्षेत्रमा विद्युत्, फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको जनाइएको छ।

बाढीपहिरोका कारण निसीखोला र तमानखोला गाउँपालिकामा गरी दुई दर्जनभन्दा बढी घर बगेका छन् भने ५० भन्दा बढी परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन, खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन्। लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।