रसुवामा आएको भीषण बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने नेपाल प्रहरीका २६ जना सदस्यहरूसमेत सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढी प्रहरी कार्यालयका २६ जना प्रहरीको अवस्था अझै अज्ञात रहेको छ। सम्पर्कविहीन प्रहरी तथा नागरिकहरूको खोजी र उद्धारका लागि सुरक्षा निकायबाट चौतर्फी प्रयास भइरहेको छ।

एकीकृत उद्धार, उपचार र राहत परिचालन

बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा जनशक्ति र आवश्यक स्रोतसाधन परिचालन गरेका छन्।

  • स्वास्थ्य टोली र मेडिभ्याक: गम्भीर घाइतेहरूको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली खटाइएको छ। आपत्कालीन सडक उद्धारका लागि ‘मास क्याजुअल्टी भेइकल्स’ सहितको मेडिभ्याक (Medevac) टोली तैनाथ राखिएको छ।

  • राहत सामग्री (DRS Container): आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने कार्य भइरहेको छ। देशका अन्य भागमा रहेका कन्टेनरहरूलाई पनि रसुवातर्फ केन्द्रित गरिएको छ।

प्रविधिको प्रयोग र भन्सार क्षेत्रमा खोजी

बाढीका कारण नदी किनार तथा अप्ठ्यारो ठाउँमा थुनिएका र सम्पर्कविहीन भएका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीले ड्रोन प्रविधि प्रयोग गरिरहेको छ। ड्रोनमार्फत क्षति मूल्याङ्कन गर्नुका साथै जोखिमयुक्त स्थानको पहिचान भइरहेको छ।

त्यसैगरी, रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढी-पहिरोमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको विशेष उद्धार टोली भग्नावशेष हटाउँदै परिचालन गरिएको छ।

भोटेकोशी र त्रिशूली किनारमा जोखिम कायमै

नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभरिएकाले फुटेर थप क्षति हुन सक्ने खतरा छ। यसैलाई ध्यानमा राख्दै भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च जोखिम कायमै रहेको छ।

सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म नदी किनारबाट टाढा र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।