गोरखा । नेपाली सेनाले बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज निर्माण सम्पन्न गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। पुल सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ।
असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडान सुरु गरेको थियो। सेनाले कात्तिक १ गते नै जडान कार्य सम्पन्न गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्माण गरिएको बेलीब्रिज ९० फिट (२७.४३ मिटर) लामो र १३.७८ फिट (४.२ मिटर) चौडा छ।
पुल पुनःस्थापनासँगै बाढीबाट प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज हुनुका साथै राहत सामग्री र अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढीले क्षति पुर्याएको यातायात सम्पर्क पुनःस्थापना गर्न सेनाले छोटो समयमै पुल निर्माण सम्पन्न गरेको हो।

प्रतिकृयाहरु