अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनालाई प्रतिवादी बनाइ आरोप पत्र दर्ता गराएको हो । 

मुद्दा दर्ता भएकोबारे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताउनुभयो । उहाँले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताउनुभयो ।

जसमा २४ जना नेपाली र आठ जना विदेशी रहेको बताउनुभयो । अख्तियारले वाइडबडी खरिदमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ । ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको छ । यसमा ३२ जना प्रतिवादी हुनुहुन्छ । २४ जना नेपालीसहित आठ जना विदेशी गरी ३२ जना प्रतिवादीहरुविरुद्ध आरोप पत्र दर्ता भएको छ । यसको सबै प्रतिवादीहरूलाई समान बिगो कायम गरिएको छ । त्यसमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ ।”

सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरी मुद्दा दर्ता गरिएको छ । -Gorkhapatraonline