लमजुङ, साउन १४ गते । लमजुङका घरबास अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा कोरोना सङ्क्रमण दर कम हुँदै गए पनि घरबास (होमस्टे) भने सुनसान नै छन् ।

होमस्टे गाउँमा पाहुना नजाँदा सञ्चालक फुर्सदमा छन् । क्व्होँलासोंथर गाउँपालिका–४ स्थित भुजुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार कोरोना सङ्क्रमण जोखिम कायमै भएकाले गाउँमा पाहुना आएका छैनन् ।

पाहुनाको आवातजावत हुँदा सङ्क्रमण बढ्ने जोखिमले पाहुनालाई आउन दिइएको छैन । पाहुनाका लागि पूर्ण रूपमा गाउँ बन्द रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाहिर बसेका स्थानीयवासी आउन थालेका छन् । पाहुना आउन भने बन्दै भयो । गाउँ सुनसान छ । स्थानीयबाहेक बाहिरी व्यक्ति देखिँदैन । सङ्क्रमणको डरले हामीले आउन दिएका छैनौँ । ”

स्थानीयवासीका अनुसार कोरोनाको जोखिमसँगै बर्खाका कारण सडक अवरुद्ध भएकाले पाहुनाको चहलपहल छैन । क्व्होँलासोंथर गाउँपालिका–३ स्थित स्मार्ट भिलेज घलेगाउँका गङ्गाबहादुर घलेका अनुसार अझै पनि होमस्टे गाउँमा कोभिडको प्रभाव परेको छ । पाहुनाका लागि गाउँ बन्द नगरिए पनि सङ्क्रमणको डरले पाहुना आएका छैनन् ।

“कोरोना सङ्क्रमणको प्रभाव अझै परिरहेको छ । स्थानीयवासी पनि त्रसित नै छन् । पाहुना पनि त्रसित भएर आएका छैनन् । आए दुई÷तीन दिनको फरकमा एक÷दुई जना आउनुहुन्छ,” उहाँले भन्नुभयो, “यो समय घलेगाउँ सुनसान छ । कोभिड र मोटरबाटो बिग्रेका कारण पाहुनालाई आउन असहज भएको हुन सक्छ । ” केही पाहुना भने हिँडेर र मोटरसाइकलमा आउने गरेका छन् ।

बेँसीसहर नगरपालिका–३, काउले पानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार पाहुना नआएपछि होमस्टे सञ्चालक खेतीपातीमा व्यस्त छन् । अहिले कोदो रोप्ने कार्यमा स्थानीयवासी लागेको उहाँले बताउनुभयो । दैनिक पाहुनाको लर्को लाग्ने काउलेपानी अहिले सुनसान रहेको गुरुङले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण पाहुना आउन छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि कोभिडले छाडेन । धेरै सङ्ख्यामा पाहुना आउने गाउँ अहिले सुनसान छ । पाहुना नआएपछि हामी खेतीपातीमा लागेका छौँ । निषेधाज्ञा हटेपछि पाहुना आउँछन् कि भन्ने आशा छ । ”

केही पाहुनाले फोन सम्पर्क गरेर जानकारी लिने गरेको र उनीहरूलाई अहिले गाउँ बन्द रहेको कुरा स्थानीयवासीले बताउने गरेका छन् । केही पाहुना भने दिउँसोको समयमा घुम्न आउने गरेका छन् । उनीहरूलाई बास बस्नका लागि भने स्थानीयवासीले दिएका छैनन् । लमजुङका अन्य पर्यटकीय गाउँ राइनासकोट, सिउरुङ, तुर्लुङकोट, खासुर, भुस्मे, नरुवल, खानीगाउँ, घनपोखरा, पसगाउँ, मिप्रा, तार्कुलगायत गाउँका होमस्टेमा पनि पर्यटक आगमन ठप्प रहेको स्थानीयवासीले बताएका छन् ।

-गोरखापत्र