नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा फरक फरक जन्ममिति कायम गरि प्राधिकरणको अध्यक्षमा बहाल रहेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले सिलवालले पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उहाँविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘सिलवालको जन्म मिति २०१५ साउन १५ गते भएको स्वीकार गरे पनि फरक फरक ठाउँमा फरक जन्ममिति उल्लेख गरी नागरिकता, पासपोर्टसहितका अरु कागजात लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।’’ 

नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साल साउन १६ गतेबाट अनिवार्य अवकाशमा जानुपर्नेमा ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९ (नौ) महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी सिलवालले लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एक सय ५४ रुपियाँ १६ पैसा जफत र असुल उपर हुनुपर्ने आरोप पत्रमा माग दाबी गरिएको छ । 

सिलवाल निजामति सेवाबाट २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो । त्यस आधारमा उहाँले २०१५।०४।१५ लाई नै जन्म मिति कायम र स्वीकार गरे गराएको भए पनि कूटनीतिक राहदानी तथा विशेष राहदानी प्राप्त गर्न उहाँले भरेको पासपोर्ट फार्म आफ्नो जन्म मिति २०१८ कात्तिक २४ गते उल्लेख गरेको पाइएको आयोगको भनाइ छ ।