नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ।

परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ। जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो। विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) रहेको  छ।

दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन्।