मालपोत कार्यालय, भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यसहित सो कार्यालयका तत्कालीन नायब सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी (चाई), तत्कालीन खरिदार मेघ बहादुर भुजेल मगर, जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध सो मुद्दा दायर भएको छ । 

आयोगका अनुसार उनीहरुविरुद्ध रुपन्देही, साविक भुजौली ९ (ख) मा रहेको सरकारी जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा बिगो रकम चार करोड ५३ लाख ४१ हजार आठ सय रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।