कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य साधन रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विवाद सिर्जना गरेको छ।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले सडक छेउमा राखेको टेम्पो वन कर्मचारीहरूले हटाउने क्रममा जेठ २९ गते भीरमा खसेको थियो। उक्त टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर धामीले आफ्नो १० सदस्यीय परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ। सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापाले घटनास्थल निरीक्षण गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्नुभएको छ। उहाँले वन अतिक्रमण हटाउने प्रक्रिया कानुनी भए पनि एक विपन्न महिलाको रोजीरोटीको साधन नष्ट गर्नु अमानवीय भएको बताउनुभयो।
पीडित धनादेवी धामीले आफूले सामान हटाएर टेम्पो घर लैजाने प्रतिबद्धता जनाउँदा पनि वन कर्मचारीहरूले बेवास्ता गरेको आरोप लगाउनुभएको छ। उहाँले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्नुभएको छ।
यता डिभिजन वन कार्यालय धनगढीले भने पटक–पटकको आग्रह अटेर भएपछि हटाउने क्रममा टेम्पो अनियन्त्रित भई भीरमा खसेको जनाएको छ। कार्यालयका अनुसार टेम्पो जीर्ण अवस्थामा रहेको र भौगोलिक अवस्थाका कारण दुर्घटना भएको हो। तर स्थानीयवासीहरूले भने टेम्पो सञ्चालनयोग्य अवस्थामा रहेको दाबी गरेका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न रहेको आशङ्कामा १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भिडियो, प्रत्यक्षदर्शीको भनाइ तथा सम्बन्धित पक्षका बयानका आधारमा थप अनुसन्धान जारी रहेको छ।
यस घटनाले वन संरक्षण र मानवीय संवेदनशीलताबीच सन्तुलन कायम गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ। स्थानीयवासीहरूले कानुन कार्यान्वयन गर्दा नागरिकको जीविकोपार्जन र मानव अधिकारलाई पनि सम्मान गर्नुपर्ने बताएका छन्।

प्रतिकृयाहरु