काठमाडौँ, जेठ ८ गते । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबारसम्मको मतगणना परिणामअनुसार कांग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा कांग्रेसले जितेको छ । 

सबै प्रदेशको स्थिति हेर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबारसम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । गण्डकी प्रदेशमा कांग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२-४२ प्रतिशत बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा कांग्रेस र एमालेका ३५-३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । 

कांग्रेसले मधेस प्रदेशमा सबैभन्दा कम प्रतिशत स्थानीय तहमा विजय हासिल गरे पनि ठूलो पार्टी भने कांग्रेस नै देखिएको छ । शनिबारसम्मको घोषणाअनुसार मधेस प्रदेशमा कांग्रेसबाट ४१ जना, एमालेबाट २२ जना, जनता समाजवादी पार्टीबाट २० जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १० जना र नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र)बाट नौ जना मात्र निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा जनता समाजवादी पार्टी तेस्रो, लोकतान्त्रिक समाजवादी पार्टी चौथो, माओवादी केन्द्र पाँचौँ र नेकपा (एकीकृत समाजवादी) छैटौँ दलका रूपमा उभिएको छ । यी दलहरूबीच जित्ने स्थानीय तहको सङ्ख्यामा निकै ठूलो फरक छ । 

लुम्बिनी प्रदेशको घोषित स्थानीय तहको तथ्याङ्क हेर्दा पहिलो कांग्रेस, दोस्रो एमाले, तेस्रो माओवादी, चौथो जनता समाजवादी र पाँचौँमा एकीकृत समाजवादी रहेको छ । कर्णाली प्रदेशका ३३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित हात पारेर कांग्रेस पहिलो पार्टी भएको छ भने २२ स्थानीय तहका प्रमुखमा जितेर माओवादी केन्द्र दोस्रो ठूलो दल भएको छ । यो 

प्रदेशमा एमालेलाई धक्का लागेको छ । शनिबारसम्म एमालेले १५ स्थानीय तहका प्रमुखमा मात्र जित हासिल गरेको छ । कांग्रेसले ५६ स्थानीय तहमा विजय हासिल गर्दा एमालेले जम्मा २६ स्थानीय तहमा मात्र जित्न सफल भएको छ ।