तनहुँ, जेठ २८ गते। सडक भासिदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिनखण्ड शनिबार दिउँसोबाट एकतर्फी सञ्चालनमा ल्याइएको छ। भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो पारिएकोले एकतर्फी रुपमा सबै प्रकारको सवारी आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ।

 यात्रुको समस्यालाई ध्यानमा राखेर एकततर्फी रुपमा सबै सवारीलाई सञ्चालनको अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। 

शुक्रबार दिउँसोदेखि हलुका सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा शनिबारबाट सबै सवारीलाई अनुमति दिइएको हो। 

बिहीबार साँझदेखी अलपत्र परेका ठूला सवारीलाई पनि शनिबार बिहानैदेखि सञ्चालनमा अनुमति दिएसंगै सडकमा अलपत्र परेका अधिकांश ठूला सवारी साधन चल्न थालेको   इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिनुभयो।