चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेको छ । चिनियाँ व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।

कतिपय बगानमा चिनियाँ व्यापारी रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । गत वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयले बताएका छन् ।
चिनियाँ व्यापारी गाउँसम्म आएपछि किसानले भनेजस्तै मूल्य पाउन थालेका छन् । उनीहरूले सिधै घरैमा आएर रुद्राक्ष खरिद गरेपछि किसानको आम्दानी बढेको व्यापारी कमल कटुवालले बताए। केही वर्षयतासम्म नेपाली व्यापारीले सानो परिमाणमा रुद्राक्ष संकलन गरी काठमाडौं लगेर बिक्री गर्ने गरेका थिए ।
खाँदबारीसहित जिल्लाका केही ठूला बजारका होटल यतिबेला चिनियाँ व्यापारीले भरिएका छन् । ‘चिल्लो, ठूलो र मुखदार रुद्राक्ष चिनियाँ व्यापारीले रुचाउनेगरेका छन्,’ उनले भने, ‘बढीपाइने पाँचमुखे कण्ठे (२१ एमएमभन्दा माथि) को मूल्य प्रतिकिलो १० हजारदेखि २० हजारसम्म ती व्यापारीले तिर्नेगरेका छन् ।’
चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका इकान्तिपुरले जनाएको छ।
किसानका अनुसार ३ मुखेभन्दा कम मुख भएकाबाहेक जति बढी मुख भयो त्यति नै बढी मूल्यमा रुद्राक्ष बिक्री हुने गरेको छ । यस वर्ष २ मुखे प्रतिगोटा ५ देखि ७ हजार, ३ मुखेलाई २ सयदेखि ४ सयसम्ममा किनबेच भएको छ ।
७ मुखे १ सयदेखि ५ सयमा किनबेच हुने गरेको छ । ८ मुखेको १ हजारदेखि १ हजार ५ सयसम्म पर्छ । ९, १० र ११ मुखेलाई १ हजारदेखि ५ हजारसम्म, १२ मुखेलाई २ हजारदेखि ४ हजारसम्म र १३ मुखेलाई ५ हजारदेखि १० हजारसम्म प्रतिगोटा मूल्य पर्ने गरेको छ ।१४ मुखे रुद्राक्ष १५ हजारदेखि ३० हजारसम्ममा बिक्री भएको किसानको भनाइ छ । १५ मुखेलाई १० देखि २० हजारसम्म, १६ मुखेलाई ३० हजारदेखि ७० हजारसम्म, १७ मुखेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म दाम पर्ने गरेको छ । १८ मुखेलाई १ लाखदेखि ३ लाखसम्म, १९ मुखेलाई ४ लाखदेखि ९ लाखसम्म, २० मुखेलाई ७ देखि १५ लाख र २१ मुखेभन्दा माथिका रुद्राक्ष २१ लाखदेखि ४० लाखसम्ममा खाँदबारीका विभिन्न बजारमा कारोबार हुने गरेको छ । यो जिल्लाबाट वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायी बताउँछन् ।

धेरै परिश्रम, गोडमेल र मलजल गर्नुनपर्ने र बजार मूल्य पनि राम्रो भएकाले किसानले खेतीयोग्य जमिन मासेर रुद्राक्षको खेती गरेका छन् । खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्लाका साथै काठमाडौं र भारतका सहरमा समेत निर्यात हुने गर्छ । चीन, युरोप र अमेरिकालगायतका मुलुकमा समेत यसको निर्यात बढेको छ । तीन वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसान थप उत्साहित भएका छन्।