जिल्ला प्रशासन कार्यालय सप्तरीले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त बार र रेष्टुरेन्टसहितका होटलले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने भन्दै कडाइ गरेको छ। लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेका सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

तिहार र छठलाई लक्षित गरी जारी सूचना अनुसार मदिरा व्यवसायीहरुले बेलुका ८ बजेसम्म र बार व्यवसायीहरु (रेष्टुरेन्ट) ले राति ८ः३० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउनेछन्। साथै जिल्लाका पान पसलहरुलाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भन्दै कडाइ गरिएको छ। जारी सूचनामा विद्यालय तथा धार्मिक क्षेत्र वरिपरीको चार किल्ला क्षेत्रमा मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको छ।

नेपाल र भारत सीमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको सिडिओ पौडेलले बताए।

भारतको बिहारमा मदिरा सेवन र बिक्री बितरण गर्नेलाई कडा सजायको व्यवस्था गरेपछि मदिरा सेवनका लागि भारतीयहरु सीमा क्षेत्रका बजारमा आउने क्रम बढेको छ भने नेपालबाट भारततर्फ मदिरा ओसारपसार समेत बढेको छ। चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको एसपी राजेन्द्र विष्टले बताएका छन्।

(अन्नपुर्ण पोस्ट)