बोल्दैनन् मानिसहरू

तर मेरा कोठाका भित्ताहरू 

आहा !!!! 

कत्ति मज्जाले बात मार्छन्

अतीतको म झैं...

 

ती टेबल, कुर्सीहरू

ती अलमरी, सोफाहरू 

मुसक्क मुस्कुराई दिन्छन्

अतीतको तिमी झैं…

 

तर त्यो ऐना

के भएको त्यो ऐनालाई

अहँ देख्दिन पहिले जस्तो

ऊ पनि अन्तर्मुखी हुँदैछ 

विस्तारै,

म जस्तै

 

त्यसैले सायद असमञ्जसमा छ

सित्तैको मुस्कान बाँड्न पनि

कठै बरा !!!

बिचरोको त धड्कन पनि छैन

त्यसैले त मेरै प्रतिबिम्बको मुटु खोज्दैछ...

तर के थाहा बिचरालाई

त्यो छायाँ हैन 

मोह माया हो भनेर…

 

मलाई पनि त लेख्नु थियो

मेरा मनका भावहरू

कलम मसीले आकृति बनाएर

कागजको खद्दरमा...

 

खै किन हो खाली नै रह्यो त्यो क्यानभास

सायद त्यो भन्दा राम्रो वर्णन गर्न सकिन

आफैंलाई

आजकल त आफ्नै छायाँ पनि भीड जस्तो लाग्छ

 

अनि

त्यसैले त ध्यान दिएर सुन्छु

एकान्तको चित्कार

किनकी

प्रेममा छु म

मान्छेसँग हैन

शून्यतासँग

कमसेकम 

आफ्नो धड्कन त सुन्न पाउँछु !!!

 

-विवेक कट्टेल, सेतोपाटी