दुई वर्षमा धरहरा निर्माण सकिने योजना

[[IMG_ALT]]

www.bsgnews | National News | Ashwin 24

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनाको सहयोग मागेको छ । निर्माण कम्पनी रमन जेभीसँग सम्झौता भएपछि निर्माण सामग्री राख्ने कामदार बस्ने ठाउँका लागि प्राधिकरणले टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको हो ।

दुई वर्षमा धरहरा निर्माण सकिने योजना अनुसार दुई वर्षका लागि टुँडिखेलको दक्षिणतर्फको एक छेउ मागिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । सेनाले भने त्रिपुरेश्वरस्थित रङ्गशालातर्फको खाली ठाउँ दिन प्रस्ताव गरेको थियो । तर त्यहाँबाट सुन्धारासम्म निर्माण सामग्री ल्याउन अप्ठ्यारो पर्ने, आर्मी मुख्यालयमा मान्छेको ओहोर दोहोर हुन अवरोध हुने भएपछि टुँडिखेलको एक छेउ मागिएको उनले बताए । यसबारेमा सेनासँग पत्राचार भएको र प्रधान सेनापति पूर्णचन्द्र थापासँग टेलिफोन वार्ता भएको मानन्धरले बताए ।

निर्माण कम्पनीले अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खुला ठाउँमा निर्माण सामग्री राख्न सुरु गरेको छ ।

टुडिखेलदेखि अहिलेको हुलाक कार्यालय अगाडि रहेको आकाशे पुलबाट निर्माण सामग्री लैजान सजिलो हुने, सडकमा सवारी साधान गुड्न पनि अवरोध नहुने भएकाले नेपाली सेनासँग सो आग्रह गरिएको उनले जानकारी दिए । यसबारेमा नेपाली सेना पनि सकारात्मक रहेको मानन्धरले बताए ।

उनले भने– ‘हामीले टँुडिखेलको दक्षिणी भाग हुने मागेका छौँ, त्यहाँको खेल प्रभावित नहुने निर्माण सामग्री, आवश्यक मेसिनरी औजार, मजदुर राख्नका लागि सेनालाई आग्रह गरेका हौँ, उहाँहरू यसबारेमा सकारात्मक हुनुहुन्छ ।’

हाल रहेको गोश्वारा हुलाक कार्यालय भत्काउने चरणमा रहेको छ । टँुडिखेलको दक्षिणतर्फ सहिदगेट तर्फको भागमा निर्माण सामग्री राख्ने, निर्माण कम्पनीले मजदुर राख्न अस्थायी प्रिफ्याब भवन बनाउने योजना छ ।

शिलान्यासका लागि प्रधानमन्त्रीको समय पर्खंदै
धरहरा कसले बनाउने, कसरी बनाउने भन्ने लामो विवादपछि हालै रमन कन्ट्रक्सन जेभीसँग निर्माण सम्झौता भएको छ । निर्माण कम्पनीले धरहरा निर्माण क्षेत्रमा अहिले पुनः सर्भे गरिरहेको छ । धरहराको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समय पर्खिएको प्राधिकरणको भनाइ छ । प्रधानमन्त्रीको समय मिलेपछि छिट्टै धरहराको शिलान्यास हुने सहसचिव मानन्धरले जानकारी दिए । उनले भने– ‘अहिले धरहरा शिलान्यासका लागि प्रधानमन्त्रीको समय माग्ने काम भइरहेको छ ।’

धराहरा निर्माणका लागि जीआईईटीसी–रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा धरहरा बनाउन प्राधिकरण र निर्माण कम्पनीबीच सम्झौता भइसकेको छ ।

स्थानीयको सरोकार– सुन्धारा जोगियोस्
प्राधिकरणले धरहरा बनाउँदा स्थानीयसँगको निरन्तर छलफल र उनीहरूको पनि सहयोगबाट धरहरा बनाउने बताएको छ । यसका लागि काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष, स्थानीयबासी, काठमाडौं महानगरपालिकाका मेयरलगायतसँग छलफल भइरहेको सहसचिव मानन्धरले जानकारी दिए ।