रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने बहस लामो समयदेखि चल्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा गठित विज्ञ टोलीले यो मन्दिर प्रतापमल्ल पालाको ग्रन्थकुट शैलीमै बनाउन सोमबार प्रतिवेदन दिएको छ। यसलाई शिखर शैली पनि भनिन्छ। विज्ञ टोलीको प्रतिवेदनका आधारमा ग्रन्थकुट शैलीमै मन्दिर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई सिफारिस गरेको प्राधिकरणले जनाएको छ। मन्त्रालयको सहमतिपछि मन्दिर पुनर्निर्माण सुरु हुनेछ।

‘हामीले गठन गरेको चार सदस्यीय टोलीले ग्रन्थकुट शैलीमै मन्दिर बनाउनुपर्ने आधार र कारणसहित प्रतिवेदन दिएको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘त्यसैअनुसार बनाउन मन्त्रालयलाई सिफारिस गरेका छौं। हामी मन्त्रालयको निर्णय कुरेर बसेका छौं।’ पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की, प्राध्यापक सुदर्शनराज तिवारी, भवन विभागका पूर्व महानिर्देशक सूर्यभक्त साङ्घाछे र स्ट्रक्चरल इन्जिनियर डा. प्रेमनाथ मास्के सम्मिलित टोलीले यस्तो प्रतिवेदन दिएको हो।

यसअघि कार्कीकै संयोजकत्वमा गठित ११ सदस्यीय विज्ञ टोलीले पनि ग्रन्थकुट शैलीमै बनाउन सुझाएको थियो। यसमा पुरातत्व विभागका विज्ञले नै सहमति जनाएका थिएनन्। त्यसपछि यो विषय टुंगोमा पुग्न सकेको थिएन। मल्लकालीन यो मन्दिरलाई जंगबहादुर राणाले बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए। १९९० सालको भुइँचालोमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिए।

२०७२ को भुइँचालोमा मन्दिर भत्केपछि यसलाई मल्लकालीन ग्रन्थकुट शैलीमा बनाउने कि राणाकालीन गुम्बज शैलीमा भन्ने विवाद थियो। सम्पदाविद्, सम्पदा अभियन्ता तथा स्थानीयले ग्रन्थकुट शैलीमा बनाउन माग गर्दै आएका थिए। मन्दिर निर्माणको जिम्मा पाएको पुरातत्व विभागले भने गुम्बज शैलीमा पुनर्निर्माण गराइरहेको थियो। सम्पदाविद् तथा आर्किटेक्ट इञ्जिनियरिङका प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउने चलन मल्लकालमै सुरु भएको हो। यो राजा प्रताप मल्ल पालामा बढी लोकप्रिय भएको उनी बताउँछन्।

‘ग्रन्थकुट शैलीलाई बौद्धतन्त्रमा आधारित संरचना मानिन्छ,’ तिवारी भन्छन्, ‘तान्त्रिक विधि ज्ञानमा आधारित हुन्छ। विद्यालाई नै शक्ति मानिन्छ।’

‘ग्रन्थकुट शब्द ग्रन्थ र कुट मिलेर बनेको हुनसक्छ। ग्रन्थले किताबको संकेत गर्छ। कुट भनेको अलिकति भिरालो परेको छाना हो,’ उनले भने। उनका अनुसार यस्तो ढाँचाका मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ। त्यही खम्बामाथि अलिकति भिरालो परेको छाना हुन्छ। माथिल्लो छानाको ढाँचाका कारण यसलाई ‘शिखर’ शैली भनिएको हो। तल्लो भिरालो छानामाथि अंग्रेजी अक्षर ‘ए’ जस्तो उठेको हुन्छ। यस्तो ‘ए’ आकार पनि पाँचदेखि नौवटासम्म हुने तिवारी बताउँछन्। काठमाडौं उपत्यकामा ग्रन्थकुट शैलीका मल्लकालीन मन्दिर प्रशस्तै भेटिन्छन्। पाटन दरबार स्क्वायरको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएको सबभन्दा पुरानो हो।

प्रताप मल्लले नै निर्माण गराएका अन्य संरचना यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर। अनन्तपुर उनले रानीका नाममा बनाएका थिए। पुरातत्व विभागले दुई वर्षअघि नै बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो। प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङबीच भएको बैठकले यस्तो निर्णय गरेको थियो।

विभागले एक करोड ५० लाख रुपैयाँमा कडेल (राम जेभी) रानीवारीलाई निर्माण ठेक्का दिएको थियो। ठेकेदार कम्पनीले गत असार मसान्तसम्म काम सक्नुपर्ने भनिए पनि काम हुन सकेन। ‘असारसम्म मन्दिर पुनर्निर्माण सक्ने लक्ष्य छ। यति नै प्रतिशत काम भयो भनेर रेकर्ड राखेका छैनौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘उसले काम सकाएपछि बिल भर्पाइ पाउने हो।’ विभागबाट यस्तो जानकारी आए पनि दुई महिनादेखि मन्दिर पुनर्निर्माण पूर्ण रूपमा ठप्प थियो।

महानगरपालिकाले बगैंचा, पर्खाल र पोखरी निर्माणको जिम्मा पाए पनि काम अघि बढ्न सकेन। महानगर फेरि टेन्डर आह्वान गर्ने तयारीमा जुटेको छ। रानीपोखरीको बाहिरी घेरामा कंक्रिट वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ। रानीपोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले वल्डवाइड कँडेल केएन केजी जेभीलाई ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो। आधुनिक शैलीमा बनाउँदा रानीपोखरीको पुरातात्विक र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि उक्त पर्खाल पनि भत्काइएको छ।

विज्ञ टोलीले नै रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग नगर्न भनेको छ। ‘अब हामी रानीपोखरी बनाउँदा सुरुआती रानीपोखरीजस्तो थियो, त्यस्तै बनाउँछौं,’ ज्ञवालीले भने।