एक नम्बर प्रदेशअन्तर्गत प्रहरीले झापा र सुनसरीबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका-६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित शनिबार २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित होटल संचालक ४८ वर्षीय  लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डललाई पक्राउ गरेको हो। साँझ ५ बजेको समयमा लागूऔषध कारोवार भरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटलको १०६ नम्बरको कोठामा चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो।

बरामद लागूऔषधसहित पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ भोटेपुलबाट प्रहरीले लागूऔषधसहित सोही स्थान बस्ने ३७ वर्षीय बिशाल बिश्वकर्मालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध स्पास्मोप्रोक्सिभन ५ सय ४ एम्पुल र २ सय ग्राम गाँजा फेला पारी बरामद गरेको हो। बरामद लागूऔषधसहित बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।